भाद्र २२। पर्यटकीय नगरी पोखरामा ‘नेपाल कप महिला आमन्त्रण फुटवल प्रतियोगिता-२०७२’ हुने भएको छ । स्पोर्टस् फर अल क्लव नेपालको आयोजनामा आउँदो असोज ३ गतेदेखी १० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने संस्थाले आइतवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा विभागीय ३ टिम र भारतीय २ टिम सहित ११ टिमको सहभागिता रहने संस्थाका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार विभागीय नेपाल पुलिस क्लव, नेपाल आर्मी र सशस्त्र प्रहरी वल, भारतको जिटिए दार्जिलिङ र विहार महिला टिमले सहभागिता जनाउँदै छन् ।
त्यसैगरी काठमाडौं, मोरङ, सुनसरी, चन्द्रनिगाहपुर, सुदुरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल खेलकुद क्लव महिला टिम र आयोजक कास्की जिल्ला महिला टिमले सहभागिता जनाउने उनले बताए ।
प्रतियोगिताको उदघाटनमा असोज ३ गते काठमाडौं महिला टिम र आयोजक कास्की जिल्ला महिला टिमले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक राधा गुरुङले बताइन् ।
प्रतियोगिता सञ्चालन गर्न करीब २० लाख लाग्ने अनुमान गरिएको अध्यक्ष शाहीले बताए । उनले खेलकुदको माध्यमबाट पर्यटन र विकासमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे ।
from SHYANE http://ift.tt/1g6l7we
via समाचार
0 comments:
Post a Comment